एमाले सांसद कोइरीलाई पक्राउका लागि सहयोग गर्न प्रहरीले लेख्यो संसदलाई पत्र, के गर्ला सभामुख ?
अखबार टुडे
प्रकाशित:
२०८०, १८ बैशाख

काठमाडौं, १८ बैशाख । प्रहरी प्रधान कार्यालयले हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका लागि सहयोग गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ ।

संघीयसंसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रहरी प्रधान कार्यालयबाट सभामुखका नाममा लेखिएको पत्र प्राप्त भएको जानकारी दिए । प्रहरीले कोइरीलाई पक्राउका लागि सहयोग माग्दै संसद्लाई लेखेको यो दोस्रो पत्र हो ।

यसअघि प्रहरी प्रधान कार्यालयले गएको पुस ७ गते पनि पत्र लेखेको थियो । तर संसद् सचिवालयले पत्रको कुनै प्रतिक्रिया दिएको थिएन । मधेस आन्दोलनका बेला २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

विकको हत्यामा कोइरीको संलग्नताबारे उच्च अदालत जनकपुरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । फरार रहेकै अवस्थामा कोइरी नेकपा एमालेको तर्फबाट महोत्तरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । अब सभामुखले सांसद कोइरीलाई निलम्बनको प्रक्रिया अगाडि बढाउने सम्भावना छ ।

प्रतिक्रिया