नेपाल र यूएईबीचको खेल स्थगित, भोलि रोकिएकै अवस्थाबाट सुरु हुने
अखबार टुडे
प्रकाशित:
२०८०, १८ बैशाख

काठमाडौं, १८ बैशाख । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीच आजको खेल स्थगित भएको छ । वर्षाका कारण आजको खेल रोकिएको हो ।

कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको थियो । आज दिनभर झरी नरोकिएपछि अब खेल भोलि मंगलबार मात्रै हुने भएको छ । अब यूएईले भोलि आजकै अवस्था (२७ ओभर ३ बल– १ सय ६ रन) बाट खेल थाल्नेछ ।

भोलिको खेल पनि वर्षाले रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा विजेताको टुङ्गो लाग्नेछ ।

एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ । यस्तो अवस्थामा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया