रविलाई सरकारमा आउन आग्रह गर्दै प्रधानमन्त्रीले भने- भ्रष्टाचारको फाइल खोल्न तयार छु
अखबार टुडे
प्रकाशित:
२०८०, १८ बैशाख

चितवन, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हु्न् ।

प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले भने, ‘तपाईँ सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुप¥यो म तयार छु ।’ सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकार पाँचै वर्ष टिक्ने बताउँदै सरकारको भविष्यलाई लिएर भएका चर्चा भ्रमपूर्ण रहेको बताए । उनले भने, ‘सरकार ढल्छ भन्ने कुरा भ्रम हो । यो सरकार पाँचै वर्ष चल्छ ।’

अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर त्यहाँ भएरहेको आन्दोलनमा सत्तारूढ दलको संलग्नता नरहेको प्रष्टीकरण दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रदर्शनमा पूर्वराजपरिवार त्यसमा आस्था राख्ने मानिस लागेको भन्ने कुराचाहिँ संवेदनशील रहेको उनको भनाइ थियो ।

फरक प्रसँगमा प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको दाबी पनि गरेका छन् । ०७१ सालमा कांग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेको र अहिले आफूले त्यसलाई कार्यान्वयन मात्रै गरेको उनले बताए ।

यस विषय अदालतसम्म पुगेको र अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि पैसा दिने प्रक्रिया रोकिएको उनले बताए । उनले आफू प्रधानमन्त्री हुनुभन्दा केहीअघि पुनः अदालतले नरोक्न भनेपछि अयोग्य लडाकूलाई पैसा दिने निर्णय गरेको उनको भनाइ छ ।

‘अहिले मैले गरेको निर्णय भनिएको जसरी प्रचार गरिएको छ, विल्कुल झुटो हो,’ प्रधानमन्त्रीले भने, ‘अदालतको फैसलालाई आधार बनाएर यो निर्णय कार्यान्वयन गरेको मात्रै हो ।’

प्रतिक्रिया