निरा हत्या प्रकरणमा आरोपीको बयान- लुटपाट गर्न खोज्दा प्रतिकार गरेपछि पसलकै चक्कुले प्रहार गरे
अखबार टुडे
प्रकाशित:
२०८०, १७ बैशाख

काठमाडौं, १७ वैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ । ब्युरोले आइतबार पत्रकार सम्मेलन गर्दै झापा मेचिनगर–१० का ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

काठमाडौंको कपनमा भाँडा पसल चलाउँदै आएकी निरा वैशाख ७ गते आफ्नै पसलमा मृत फेला परेकी थिइन् । उनको शरीरमा अन्धाधुन्ध चक्कु प्रहार भएको थियो । हत्याको भएको १० दिनपछि शनिबार झापामा पक्राउ परेका विकले निराको हत्या गरेको स्वीकारेका छन् ।

ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार वैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन् । प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक–पटक हानेर निराको हत्या गरेका बताएका छन् ।

पक्राउ परेका विक झापामा क्यासिनोमा काम गर्थे । त्यही क्रममा उनमा जुवा खेल्ने लत बस्यो । उनलाई तीन लाख रुपैयाँ ऋण लागेको थियो । त्यसपछि उनी झापा छोडेर काठमाडौं आएका थिए । काठमाडौंमा उनी नाइट क्लबमा बाउन्सरको काम गर्थे ।

सोझो हिसाबले काममात्र गर्दा खर्च चलाउन र ऋण तिर्न नसकेपछि आफू लुटपाटमा लागेको र त्यही क्रममा निराको पसलमा लुटपाट गर्न गएको उनले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया