शपथपछि रवि लामिछाने : सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ
अखबार टुडे
प्रकाशित:
२०८०, १५ बैशाख

काठमाडौं, १५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् ।

उपनिर्वाचनमा निर्वाचित भएका उनीहरुले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् । उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र यादव भने शपथ समारोहमा अनुपस्थित थिए ।

उनी बारामा रहेकोले उनी शपथमा सहभागी नभएका हुन् । उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

शपथपछि रास्वपा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने बताएका छन् । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले सरकारले आफ्नो एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएको भन्दै समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको बताए ।

उनले भने, ‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन । कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने विषय थियो । सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ । समर्थन फिर्ता हुने सम्भावना छ । विषयमा संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्नेछौं ।’

प्रतिक्रिया