रेसुङ्गामा विमानस्थलमा नेपाल वायुसेवा निगमको परीक्षण उडान सफल
अखबार टुडे
प्रकाशित:
२०८०, १५ बैशाख

गुल्मी, १५ वैशाख । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले गरेको परीक्षण उडान सफल भएको छ । शुक्रबार बिहान नाइन एन एबिटी कल जहाजले गरेको परीक्षण उडान सफल भएको हो ।

काठमाडौंबाट करिब ५० मिनेटको उडानपछि रेसुङ्गा विमानस्थलमा अवतरण गरिएको जहाजका क्याप्टेन मनिस श्रेष्ठले जानकारी दिए । परीक्षण उडान सफल भएसँगै निगमले सम्झौता गरेअनुसार अब प्रत्येक शुक्रबार निगमको जहाजले रेसुङ्गा विमानस्थलमा उडान भर्नेछ ।

रेसुङ्गा विमानस्थल गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्ची बाटो पछि विमानस्थल पुग्न सकिन्छ ।

रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ५ सय भित्रै हुनसक्ने ननगरपालिका नगरप्रमख खिलध्वज पन्थीले बताए । यसअघि विमानस्थलमा गत पुस २४ गते तारा एयरको १८ सिट क्षमताको जहाजले पनि सफल उडान गरेको थियो ।

रेसुङ्गा विमानस्थलको धावनमार्गको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा हालसम्म निर्माणमा ३५ करोड खर्च भइसकेको छ ।

प्रतिक्रिया