चिनियाँ आयातको भुक्तानी युआनमा गर्ने अर्जेन्टिनाको घोषणा
अखबार टुडे
प्रकाशित:
२०८०, १४ बैशाख

काठमाडौं, १४ बैशाख (एजेन्सी) । अर्जेन्टिनाले अब चीनबाट खरिद गर्ने सामानको भुक्तानी डलरको सट्टा चिनियाँ मुद्रा युआनमा गर्ने घोषणा गरेको छ । देशको घट्दो डलर सञ्चितिलाई ध्यानमा राख्दै अर्जेन्टिनाले यो निर्णय गरेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सरकारी विज्ञप्तिमा अप्रिल महिनामा अर्जेन्टिनाले चिनियाँ आयातको करिब एक अर्ब डलर युआनमा भुक्तान गर्ने लक्ष्य राखेको छ । यो भुक्तानी पछि, करिब ७९ करोड डलर मासिक आयात पनि चीनलाई युआनमा गरिनेछ ।

चिनियाँ राजदूत जू शियाओलीसँग बैठकपछि अर्जेन्टिनाका अर्थमन्त्री सर्जियो मस्साले यो निर्णयको पछाडिको कारण डलरको अभावलाई हटाउनु भएको बताएका छन् ।

अर्जेन्टिनामा खडेरीका कारण कृषिजन्य वस्तुको निर्यातमा तीव्र गिरावट आएका कारण यसको डलर सञ्चिति कमजोर भएका बेला यो निर्णय गरिएको हो । गत वर्ष नोभेम्बरमा, अर्जेन्टिनाले आफ्नो अन्तर्राष्ट्रिय सञ्चिति बढाउन चीनसँग ५ अर्ब डलर साटेको थियो ।

प्रतिक्रिया