यस्तो पनि : भगवानकै नाममा ८३ जनाले ज्यान गुमाए
अखबार टुडे
प्रकाशित:
२०८०, १३ बैशाख

काठमाडौं, १३ बैशाख (एजेन्सी) । भनिन्छ, ईश्वर वरदान हो । तर अहिले एउटा समाचार विश्वमै सनसनी छ । त्यो हो, केन्यामा आज बुधबारसम्ममा ईश्वरकै नाममा ८३ जनाले ज्यान गुमाइसकेका छन् ।

समाचारहरुमा उल्लेख गरिएअनुसार केन्यामा बुधबार भगवान् भेट्न भन्दै भोकभोकै बस्दा १० जनाले ज्यान गुमाएका छन् । यो खबर केन्याका अधिकारीहरूले बताएका हुन् । यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको संख्या ८३ पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको संख्या बढ्नसक्ने बताएका छन् । निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । उनीहरूले आरोपीको खोजीमा दिनभर जङ्गलमा बिताएका थिए ।

बुधबार तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएका हुन् । मृतक बालबालिकाले उनीहरूले श्वेतवस्त्र लगाएका पाइएको छ । भोकै बसेमा भगवान् भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गुडन्युज चर्चका केही अनुयायीले शाकोला जङ्गलमा अझैपनि भगवानसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन् । स्थानीय प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ ।

साथै, मालिन्दी अस्पतालका अधिकारीले मृतकको सङ्ख्या बढदै जाँदा शवहरू सुरक्षित रूपमा राख्न सकिने अवस्था नरहेको भन्दै पहिलेदेखि नै भरिएका मुर्दाघरमा चरम स्थान अभाव भएको गुनासो गरेका छन् । उनीहरूले शवलाई सड्नबाट जोगाउन चिस्यान यन्त्र आवश्यक परेको भन्दै केन्या रेडक्रससँग हारगुहारेको समाचारमा बताइएको छ ।

प्रतिक्रिया