काठमाडौं, १३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको संसद छिर्ने चाहना पनि पूरा भएको छ । प्रतिनिधिसभा सदस्य लागि बारा–२ भएको उपचुनावबाट निर्वाचित भएसँगै उपेन्द्रको संसद छिर्ने चाहना पूरा भएको हो ।
उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतान्तरले हरायो । विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याउए ।
एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।
उपेन्द्र यादव मंसिरमा भएको चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए । मंसिरमा भएको चुनावमा पराजित भएपछि संसद छिर्नकै लागि उनले बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपचुनावमा आफू उम्मेदवार बनेका थिए ।
मंसिर ४ मा बारा–२ मा तत्कालीन सत्तागठबन्धन र जसपा–एमाले विपक्षी मोर्चाबीच प्रतिस्पर्धा थियो । सत्तागठबन्धनबाट माओवादीका शिवचन्द्रप्रसाद कुशवाहा र विपक्षी गठबन्धन जसपाका रामसहाय प्रसाद यादव उम्मेदवार थिए । प्रत्यक्षतर्फ जसपाका रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ र त्यसबेला माओवादीका उम्मेदवार कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याउनुभएको थियो ।
कुशवाहा उपचुनाव अघि चैत १५ मा माओवादी छाडेर सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका थिए । उपचुनावमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी छोड्न बाध्य भएको कुशवाहाले बताएका थिए ।