राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्ने ८० बर्षीय बाइडेनको घोषणा
अखबार टुडे
प्रकाशित:
२०८०, १३ बैशाख

काठमाडौं, १३ बैशाख (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् भने उनले धेरै अघिदेखि अर्को चार वर्षका लागि पनि प्रतिस्पर्धा गर्ने संकेत गर्दै आएका थिए ।

उम्मेदवारी घोषणाका लागि जारी गरिएको भिडियोमा बाइडेनले आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताएका छन् । बाइडेनको निर्वाचन अभियानले जारी गरेको उक्त भिडियोको प्रारम्भ २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले संसद् भवनमाथि आक्रमण गरेको दृश्यबाट हुन्छ ।

भिडियोमा बाइडेनले चार वर्षअघि चुनाव लड्दा आफूले अमेरिकी आत्मा जोगाउन लडिरहेको बताएको र अहिले पनि सो लडाइँ जारी रहेको जनाएका छन्। साथै उनले अब यो कामलाई पूर्णता दिनुपर्ने बताएका छन्।

बाइडेनले आगामी निर्वाचनका लागि पनि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस नै आफनो रनिङ मेटका रुपमा चयन गरेका छन्।आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि नै आफनो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

आ–आफनो पार्टीबाट मनोनयन जित्न सकेको अवस्थामा २०२४ को नोभेम्बरमा पुनः एक पटक बाइडेन र ट्रम्प एक–अर्कासँग भिड्नेछन् । २०२० को निर्वाचनमा बाइडेनले ट्रम्पलाई पराजित गरेका थिए ।

प्रतिक्रिया