चरा ठोकियो भनेर भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका २ म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
अखबार टुडे
प्रकाशित:
२०८०, १२ बैशाख

काठमाडौं, १२ बैशाख । फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीका दुई जना कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

सोमबार राति ९ः२० बजे काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजको पखेटामा आगोको झिल्कासहित ठूलो आवाज आएको थियो । तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो ।

प्राधिकरणले कुनै पनि आधार प्रमाणविना जहाजमा चरा ठोकिएको भ्रमपूर्ण समाचार फैलाएको भन्दै फ्लाई दुबईका नेपाल म्यानेजर र एअरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो ।

यस्तै उनीहरूको एअरपोर्ट पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ । यससँगै उनीहरुले विमानस्थल भित्र प्रवेश पाउने छैनन् । प्राधिकरणका अनुसार सोमबार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगो देखिएको हो भन्नेबारे संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन प्राधिकरणबाट जानकारी लिने छ ।

सोमबार १६९ यात्रु बोकेर दुबईका लागि उडेको जहाजमा विमानस्थलबाट उडेलगत्तै आगो देखिएको थियो । एउटा इन्जिनमा समस्या आएको भन्दै पुनः विमानस्थलमा अवतरण गराउने तयारी पनि गरिएको थियो ।

तर, पाइलटले त्रिभुवन विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएनन् । पाइलटले सुरूमा काठमाडौंको आकाशमा नै केही फन्का लगाए र जहाज पुनः आफ्नै रुटमा गन्तब्यतर्फ लगेको थियो ।

प्रतिक्रिया