फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको दाबी नागरिक उड्ययन प्राधिकरणद्वारा अस्वीकार
अखबार टुडे
प्रकाशित:
२०८०, १२ बैशाख

काठमाडौं, १२ बैशाख । नेपाल नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको दाबी अस्वीकार गरेको छ ।

सोमबारै राति दुवई मिडिया अफिसले आफ्नो ट्वीटर ह्यान्डलमा काठमाडौंबाट ९ः २० बजे दुबईका लागि उडेको एफजेड ५७६ जहाजमा चरा ठोक्किएको (बर्ड स्ट्राइक) दाबी गरेको थियो । तर प्राधिकरणले उक्त दाबी अस्वीरकार गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘सोमबार राति जहाजमा चरा ठोक्किएको भन्ने पुष्टि भएको छैन । हामी एयरपोर्टको मान्छेलाई बर्ड स्ट्राइकबारे थाहा छैन । चरा ठोक्किएको भए जहाजमा दुलो पर्थ्यो होला । पाइटले यहाँको टावरलाई किन भनेनन् ? बर्ड स्ट्राइकलाई देखाएर उसले आफ्नो कमजोरी ढाकछोप गरेको मात्र हुनसक्छ ।’

जहाजमा चरा ठोक्किदा कहिले सामान्य त कहिले गम्भीर दुर्घटनासमेत हुने गर्छ । प्रवक्ता निरौलाले विमानस्थलको धावनमार्गमा एउटा मरेको भँगेरा भेटिएको भएपनि त्यो जहाजमा ठोक्किएको भने अस्वीकार गरे ।

उनले भने, ‘चरा भेटिएको त हो । तर, त्यो चरा हेर्दा हिजै ठोकिएर मरेको भन्ने पुष्टि भएको छैन । यहाँ दिउँसो पनि शिकारी घुमिरहेका हुन्छन् । उनीहरुले मारेको हुन सक्छ । हिजै मरेर खसेको भए त आलो हुनुपर्थ्यो । केहि दिनअगाडि मरेर सुकिसकेको अवस्थामा चरा भेटिएको हो,’ उनले भने ।

सोमबार १६९ यात्रु बोकेर दुबईका लागि उडेको जहाजमा विमानस्थलबाट उडेलगत्तै आगो देखिएको थियो । एउटा इन्जिनमा समस्या आएको भन्दै पुनः विमानस्थलमा अवतरण गराउने तयारी पनि गरिएको थियो ।

तर, पाइलटले त्रिभुवन विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएनन् । पाइलटले सुरूमा काठमाडौंको आकाशमा नै केही फन्का लगाए र जहाज पुनः आफ्नै रुटमा गन्तब्यतर्फ लगेको प्राधिकरणको भनाई छ ।

यता पर्यटनमन्त्री सुदन किरातीले पनि जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको बताएका छन् । उनले नकरात्मक हल्ला नगर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया