जीत निश्चित भएपछि रविले भने- भ्रष्टाचारको छानबिन गर्ने बुँदा हटाइयो, सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं
अखबार टुडे
प्रकाशित:
२०८०, १२ बैशाख

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

चितवन–२ मा भएको उपनिर्वाचनमा जीत निश्चित भएपछि भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने लगायत बुँदा समावेश नभएकाले सरकारलाई समर्थन दिइरहनु औचित्यपूर्ण नहुने बताएका हुन् ।

तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ । नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताए ।

उनले भने, ‘सुरुमा सरकार बन्दा न्यूनतम साझा कार्यक्रममा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने बुँदा राखेका थियौं । तर, पछि त्यसलाई हटाइयो । हामीले सरकारलाई औचित्यका आधारमा समर्थन गर्ने हो । सरकारले ध्यान दिनुपर्ने कुरामा ध्यान नदिएकाले पुनर्विचार गर्छौं । हामीले अस्थिरता नहोस् भनेर समर्थन दिएका थियौँ । अब काठमाडौं फर्किएपछि बसेर छलफल गर्छौं ।’

सभापति लामिछानेले जनताले परिवर्तनको सांकेतिक घण्टी बजाएको पनि बताए । ‘अब परिवर्तन आवश्यक छ । जनताले सांकेतिक घण्टी बजाउनु भएको हो । यो सबैको जित सबै राजनीतिक दलहरूका लागि सन्देश पनि हो,’ उनले भने ।

प्रतिक्रिया