निर्वाचित भएपछि स्वर्णिमले भने- कार्यकारी भूमिका पाए राष्ट्रकै जिम्मेवारी बोक्छु
अखबार टुडे
प्रकाशित:
२०८०, १२ बैशाख

काठमाडौं, १२ बैशाख । तनहुँ-१ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले राष्ट्रको जिम्मेवारी म बोक्ने बताएका छन् ।

निर्वाचित भएको प्रमाणपत्र वितरण कार्यक्रममा मंगलबार बिहान बोल्दै उनले कार्यकारी भूमिका पाए तनहुँसहित राष्ट्रकै जिम्मेवारी बोक्ने बताएका हुन् ।

उनले भने, ‘संसदमा मैले गर्ने प्रस्तुति, तयारी र पछि कार्यकारी भूमिका निभाउन सकेँ भने तनहुँलाई हेर्छु नै सम्पूर्ण राष्ट्रको जिम्मेवारी म बोक्छु । अन्तर्राष्ट्रिय मञ्चमा पनि विस्तार हुनेछु ।’

उनले चुनावमा भनेजस्तै आफू तनहुँले गर्व गर्न लायक सांसद बन्ने दोहो¥याए । ‘मैले चुनावीसभामा पनि भनेको थिएँ– तनहुँले गर्व गर्न लायक सांसद बन्ने लक्ष्य छ । लक्ष्य परिपूर्ति गर्न मिहिनेत गर्नेछु । केही कमजोरी भए बताइदिनुहोला, म सच्चिएर जाने छु,’ उनले भने ।

गोविन्द भट्टराईसँग चुनाव लड्नुपरेकोमा आफूलाई केही दुःख लागेको स्वर्णिमले सुनाए । तर, चुनावी नतिजा जे भए पनि सबै दलसँग मिलेर काम गर्ने उनको भनाइ छ ।
आइतबार भएको निर्वाचनमा तनहुँ १ बाट स्वर्णिम ३४ हजार ४ सय ८० मतसहित विजयी भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट उठेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पारे ।

कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मतमात्र प्राप्त गरे । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेको तनहुँ १ मा उपनिर्वाचनमा झण्डै ६५ हजार मत मत खसेको थियो । रास्वपाका वाग्लेले सदर मतको ५२ प्रतिशतभन्दा बढी मत प्राप्त गरे ।

प्रतिक्रिया