राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
अखबार टुडे
प्रकाशित:
२०८०, ११ बैशाख

काठमाडौं, ११ वैशाख । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको छ ।

बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि नेपाली चलचित्रहरूको आवेदन माग गरेको हो । त्यस्तै, विशेष चलचित्रको प्रतिस्पर्धाको लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको छ ।

राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ वैशाख १ देखि २०७९ चैत मसान्तभित्र जाँचपास भई प्रदर्शनसमेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रहरूले सहभागिता जनाउन सक्ने बोर्डले जनाएको छ ।

आदिवासी, जनजाति एवम् विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समय सीमाभित्र जाँचपास मात्र भएको भएपनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन् । राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० वैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० वैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन । यस पटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरूले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका ३–३ वटा चलचित्रहरू गरी छ वटा घोषणा हुनेछन् ।

प्रतिक्रिया