सुडानको सैन्य द्वन्द्वमा परेर ४२० जनाको मृत्यु, भाग्न थाले विदेशी कूटनीतिज्ञ
अखबार टुडे
प्रकाशित:
२०८०, ११ बैशाख

काठमाडौं, ११ वैशाख (एजेन्सी) । अफ्रिकी राष्ट्र सुडानमा दश दिनयता दुई सैन्य गुटबीच युद्ध चलिरहेको छ । देशलाई कब्जा गर्न सरकारी सेना र अर्ध सैन्य बल ¥यापिड सपोर्ट फोर्स आरएसएफबीच १५ अप्रिलबाट गोलाबारी र क्षेप्यास्त्र हानाहान चलिरहेको हो ।

सुडानको राजधानी खार्तुम र देशका अन्य हिस्सामा यतिबेला बम विस्फोटनको आवाज र रकेट आक्रमणको आवाज सुनिनु सामान्यजस्तै बनिसकेको छ । दुई सैन्य गुटको द्वन्द्वमा परेर हालसम्म ४ सय २० जनाले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ ।

मृतकमध्ये २६४ जनाभने निर्दोष सर्वसाधारण छन् । डब्लूएचओले आइतबार राति ट्विट गर्दै अन्य ३७ सयभन्दा बढी मानिसहरू घाइते भएको र सुडानका विमानस्थल बन्द भएकाले औषधि पठाउन गाह्रो भइरहेको उल्लेख गरेको छ ।

आरएसएफले सरकारी सेनाहरूलाई धेरै ठाउँमा आफूले जितेको दाबी गरेको छ । उसले भिडियो सार्वजनिक गर्दै आफ्ना नेता डगालो खार्तुमको राष्ट्रपतीय भवन नजिक पुगिसकेको जनाएको छ । दुवै तर्फका सेनाले एकअर्काको एयरबेसहरू ध्वस्त बनाएको दाबी पनि गरिरहेका छन् ।

भीषण युद्ध चलिरहँदा विश्वभरका कैयौँ देशले आफ्ना कूटनीतिज्ञहरूलाई राजधानी खार्तुमबाट उद्धार गर्न थालेको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्ना सेनाको मद्दतमा बेलायतका सबै कूटनीतिज्ञ र उनीहरूको परिवारलाई सुडानबाट बाहिर निकालेको जानकारी दिएका छन् । साउदी अरबले पनि आफ्ना कूटनीतिज्ञसहित १५७ जना नागरिकको उद्धार गरेको छ ।

अमेरिका, फ्रान्स, जर्मनी, भेनेजुएला र क्यानडाले पनि आफ्ना कूटनीतिज्ञहरूलाई उद्धार गरेको छ । सुडानका नागरिक आफैँ पनि त्यहाँबाट भागेर इजिप्ट गएका खबरहरू आएका छन् ।

वास्तवमा हाल सुडान रणभूमिमा परिणत हुनुमा त्यहाँकै दुई सैन्य जनरल दोषी छन् । सरकारी सेना सुडानी आर्म्ड फोर्स एफएएसका प्रमुख अब्देल फतेह अल बुरहान र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स आरएसफका प्रमुख मोहम्मद हमदान दगालोबीचको शक्ति संघर्षका कारण यो अवस्था सिर्जना भएको हो ।

एक समय यस्तो थियो, जब उनीहरूले मिलेर नै देश कु गरेर कब्जा गरेका थिए । तर, यतिबेला आफ्नो प्रभुत्वका लागि देश कब्जा गर्न उनीहरू लडिरहेका छन् ।

प्रतिक्रिया