ठूला दलप्रति नागरिकले चासो देखाएनन्, पार्टीलाई सुधारेर जानुपर्छ : देउवा
अखबार टुडे
प्रकाशित:
२०८०, ११ बैशाख

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपचुनावमा पनि ठूला राजनीतिक दलप्रति नागरिकले चासो नदेखाएको बताएका छन् ।

सोमवार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले ठूला पार्टीप्रति नागरिकको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याए ।

देउवका कुरा उल्लेख गर्दै पार्टीका सांसद रामहरि खतिवडाले भने, ‘उपनिर्वाचनले ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर सभापतिले केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्यो सँगै कांग्रेसले बजेट ल्याउँदाखेरी जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ भन्नुभयो ।’

बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गर्नुभएका वीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि नागरिकसँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । उनीहरूले आउँदो बजेटमा नागरिकका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया