लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत
अखबार टुडे
प्रकाशित:
२०८०, ११ बैशाख

काठमाडौं, ११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान बसेको प्रदेशसभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको मत पाउन नसकेपछि उनी नेतृत्वको सरकार ढलेको हो ।

गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने छन् । गिरीलाई एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै समर्थन गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका ८ दल र १ जना स्वतन्त्र सांसद गरी ५३ सांसदले विपक्षमा मतदान गरेका हुन् ।

विपक्षमा मतदान गरेका ५३ जनाले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाइसकेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासका मत लिन ४४ सांसद आवश्यक पर्छन् । सात दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई नेकपा माओवादी केन्द्रलगायत दलले दिएको समर्थन गत चैत १२ गते फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । यसअघि सुदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलिसकेको छ । अब कोसी प्रदेशमा मात्र एमालेको सरकार छ ।

प्रतिक्रिया