‘महाराज’सँगै सदर चिडियाखानामा थुनिए ‘महारानी’
अखबार टुडे
प्रकाशित:
२०८०, १० बैशाख

काठमाडौं, १० बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई गाउँकी ४२ वर्षीय गंगा चन्दलाई आक्रमण गर्ने ‘महारानी’ नाम दिइएको पोथी बाघ सदर चिडियाखानामा ल्याइएको छ ।

करिब ५ वर्ष उमेरको उक्त नरभक्षी बाघले भारतीय वन क्षेत्रमा पनि एक नेपालीसहित २ जनाको ज्यान लिइएको सकेको बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सकसहित राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

उक्त बाघले गत शुक्रबार घाँस काट्न जाँदा बिहान ४२ वर्षीय चन्दलाई आक्रमण गरेर घिसार्दै लगेको थियो । चन्दसँगै घाँस काट्न गएका अन्य महिलाहरु भने बाँच्न सफल भएका थिए ।

सोही दिन ४ वटा हात्ती प्रयोग गरेर शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सकसहित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले डार्ट गरेर उक्त बाघलाई नियन्त्रणमा लिएको थियो । शनिबार राति नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुरुप बाघलाई सदर चिडियाखाना ल्याइएको हो ।

आइतबार साँझ साढे ५ बजे सदर चिडियाखानामा ल्याइएको यो पोथी बाघबारे चिडियाखानाका प्रमुख डा. नरेश सुवेदीले भने, ‘अब यो बाघलाई यहाँ भएको महाराज बाघसँगै राखिने भएकाले हामीले महारानी नामकरण गरिदिएका छौं ।’ अब उक्त ‘महारानी’ नरभक्षी बाघको जुनी सदर चिडियाखानामै बित्नेछ ।

प्रतिक्रिया