उपनिर्वाचन : ६० प्रतिशत मत खस्यो, बैशाख १२ गतेभित्र मतपरिणाम आउने
अखबार टुडे
प्रकाशित:
२०८०, १० बैशाख

काठमाडौं, १० बैशाख । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यअन्र्तगत उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको हो ।

आइतबार बारा २, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक सम्पन्न भएको पनि आयोगले जनाएको छ । आयोगका अनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मतदान भएको छ ।

गत मंसिर४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको आयोगले उल्लेख गरेको छ । यस निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए ।

मतदान सम्पन्न भएसँगै आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको आयोगले जनाएको छ । र, आजै रातिदेखि मतगणना सुरु हुने पनि आयोगले जनाएको छ । आयोग अनुसार यही १२ वैशाख (मंगलबार)भित्र मतपरिणाम सार्वजनिक गर्नेगरी मतगणना हुनेछ ।

प्रतिक्रिया