रास्वपाले माफी मागेपछि चितवनको दुई केन्द्रमा रोकिएको मतदान पुन: सुरू
अखबार टुडे
प्रकाशित:
२०८०, १० बैशाख

चितवन, १० वैशाख । चितवन क्षेत्र नं. २ का दुईवटा केन्द्रमा रोकिएको मतदान पुनः सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।

चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रास्वपा सभापति रवि लामिछाने नयाँ किरण मावि जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न हुँदा मतदान रोकिएको थियो । सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।

त्यसपछि बोलाइएको सर्वदलीय बैठकमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच ४ बुँदे समझदारी भएपछि दुई घण्टा बढी समय स्थगित भएको मतदान पुनः सरु भएको हो । जसको पहिलो बुँदामा भनिएको छ, ‘रास्वपाबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो।’

प्रतिक्रिया