नेपालमा लुकेको आशंका गरिएका अमृतपाल पञ्जाबबाट पक्राउ, को हुन् उनी ?
अखबार टुडे
प्रकाशित:
२०८०, १० बैशाख

काठमाडौं, १० वैशाख । नेपालमा लुकेर बसेको आशंकका गरिएका ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख अमृतपाल सिंह पक्राउ परेका छन् । भारतको मोस्ट वान्टेड सूचीमा रहेका सिंहलाई पञ्जाब प्रहरीले आज बिहान मोगाबाट पक्राउ गरेको हो ।

सिंहको गिरफ्तारीलाई पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले पुष्टि गरेका छन् । उनी ३६ दिनदेखि फरार थिए । यसअघि सिंह नेपालमा लुकेर बसेको भारतले दाबी गरेको थियो ।

को हुन् अमृतपाल सिंह ?
सिंह पञ्जाब राज्य भारतबाट टुक्र्याउने र छुट्टै देश ‘खालिस्तान’ बनाउने अभियानका नेतृत्वकर्ता हुन् । उनलाई पक्राउ गर्न ५० हजार भारतीय प्रहरी परिचालन भएका बताइएको थियो । पञ्जाबको अमृतसर जिल्लास्थित जाल्लुपुर खेरा भन्ने ठाउँ उनको स्थायी ठेगाना हो ।

३० वर्षे सिंहको परिवारले दुबईमा यातायात व्यवसाय गर्दै आएको छ । सिंह सन् २०१२ देखि दुबईमा बस्दै आएका थिए । भारतमा सन् २०२० अगष्ट ९ देखि २०२१ डिसेम्बर ११ सम्म भएको कृषक आन्दोलनमा होमिन उनी दुबईबाट भारत आएका थिए । त्यसपछि उनी पुनः दुबई फर्किएका थिए ।

के हो वारिस पञ्जाब दे ?
पञ्जाबी कलाकारहुँदै अभियन्ता बनेका दिप सिद्धु सन् २०२१ को जनवरी २६ मा कृषक आन्दोलनमा गिरफ्तार भएका थिए । जेलबाट छुटेपछि उनले वारिस पञ्जाब दे संगठन स्थापना गरे ।

उक्त संगठनको प्रमुख उद्देश्य पञ्जाबको अधिकारका लागि लड्नु थियो । गतवर्ष सिद्धुको सवारी दुर्घटनामा मृत्यु भएपछि अमृतपाल सिंहले यस संगठनको नेतृत्व गर्न थाले ।

संगठन बदनाम
दिप सिद्धुका भाइ मन्दिपका अनुसार अमृतपालको ‘वारिस पञ्जाब दे’ सिद्धुको ‘वारिस पञ्जाब दे’ नाम एउटै भए पनि फरक छ । द इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा मन्दिपले खालिस्तानी प्रचारक अमृतपालले आफ्नो दाइको नाम दुरुपयोग गरिरहेको आरोप लगाए ।

‘दिप सिद्धुले स्पष्ट रूपमा भनेका थिए कि समस्या समाधानका लागि वार्ता एक मात्र बाटो हो तर अमृतपालले स्पष्ट रूपमा युवाहरूलाई हतियार उठाउन आग्रह गरिरहेका छन्,’ उनले भने ।

भिन्द्रावालेको पथमा अमृतपाल
शिख समुदायको सबैभन्दा पवित्र पूजास्थल गोल्डेन टेम्पलमा शिख आतंकवादी जर्नेल सिंह भिन्द्रावाले सेनाको आक्रमणमा मारिएको नौ वर्षपछि अमृतपाल सिंहको जन्म भएको थियो ।

अमृतपालको शैली र व्यवहार हेर्दा उनी भिन्द्रनवालेका कट्टर समर्थक जस्तो देखिन्छन् । भिन्द्रावाले जस्तै सिंह पनि वाण बोक्छन् र हतियारधारी सुरक्षा गार्डहरूसँग हिँड्छन् । यद्यपि भिन्नताहरू धेरै छन् ।

भिन्द्रावाले पूर्ण रुपमा एक धार्मिक नेता थिए, रूढिवादी शिख संगठन दमदमी टकसालका उनी प्रमुख थिए । उता अमृतपालको रूढिवादी धार्मिक पृष्ठभूमि छैन ।

कसरी चर्चामा आए ?
फेब्रुअरीमा अमृतसरबाहिरको एक प्रहरी कार्यालयमा एक भिडले तोडफोड मच्चिएपछि अमृतपाल सिंहको चर्चा सुरु भएको हो । त्यसबेला उनकै समर्थकले प्रहरी चौकीमा तोडफोड गरेका थिए ।

तरबारसहित आक्रमणकारी प्रहरी चौकी पुगेका थिए र उनीहरूले शिख पवित्र पुस्तकलाई ढालको रूपमा प्रयोग गरेका थिए । उनीहरू अमृतपालका प्रमुख सहयोगी लभप्रित सिंहलाई छुटाउन आक्रमण गरेका थिए जो अपहरण मुद्दामा हिरासतमा थिए ।

यो घटनाले भारतमा ठूला समाचारहरू बने र अमृतपाललाई चर्चित बनाइदियो । त्यसलगत्तै अमृतपालले पञ्जाब राज्य टुक्राउने र ‘खलिस्तान’ देश बनाउने लक्ष्यका लागि लोकतान्त्रिक रूपमा निर्वाचित सरकारविरुद्ध सशस्त्र विद्रोहका लागि आह्वान गरेको बयान सार्वजनिक गरेका थिए ।

अमृतपालविरुद्धको आरोप के हो ?
अमृतपाल सिंहका सहयोगीहरूबाट ठूलो मात्रामा अवैध हतियारहरू बरामद भएपछि उनीविरुद्ध हतियार ऐनअन्तर्गत पछिल्ला मुद्दाहरू दर्ता भएका छन् । उनले पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई र विदेशमा रहेका केही आतंकवादी समूहसँग घनिष्ठ सम्बन्ध राख्दै आएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

खालिस्तानी नेता अमृतपाललाई बेलायतमा रहेको खालिस्तानी आतंकवादी अवतार सिंह खान्डाको नजिकको व्यक्ति मानिन्छ र अमृतपाल चर्चामा आउनुमा अवतार प्रमुख कारक मानिन्छ ।

उनीमाथि हिंसात्मक प्रदर्शनका लागि लागुऔषध दुर्व्यसन केन्द्रहरूबाट युवाहरू झिकाएर ‘निजी सेना’ निर्माण गरिरहेको आरोप पनि लागेको छ । पाकिस्तानबाट अवैध रूपमा ल्याइएका हतियारहरू भण्डारण गर्न पनि त्यस्ता दुर्व्यसन केन्द्रहरू प्रयोग भएको पाइएको जनाइएको छ ।

प्रतिक्रिया