एसीसी प्रिमियर कप : नेपालले ओमानलाई ८४ रनले हरायो
अखबार टुडे
प्रकाशित:
२०८०, ८ बैशाख

काठमाडौं, ८ बैशाख । एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै सानदार जित निकालेको छ । यो जितसँगै नेपाल प्रिमियर कपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

नेपालले दिएको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको ओमानले ४६ ओभर ३ बलमा दुई सय २६ रनमात्र बनाउन सक्यो । ओमानका लागि मोहम्मद नदीमले ६५ र सन्दीप गोदले ४६ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले तीन/तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले शतक बनाए । उनले ६४ बल खेल्दै १० छक्का र नौ चौकाको मद्दतमा एक सय आठ रन जोडे ।

यस्तै सोमपाल कामीले ६३, करण केसीले २९, भीम सार्कीले ३३, आरिफ शेखले २९, कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे । ओमानका आयन खानले दुई विकेट लिए ।

समूह ’ए’ मा रहेको नेपालले दुई खेलमा चार अंक जोडदै तालिकाको शीर्ष स्थानमा यथावत् छ । अब नेपाल अर्को खेल वैशाख ११ गते साउदी अरबसँग खेल्ने छ। खेल मुलपानी क्रिकेट मैदानमा हुने छ ।

समूह ’ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया