काठमाडौं, ८ वैशाख । अख्तियाार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानुन विपरीत कित्ताकाट गरेको भन्दै अख्तियारले तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दास महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादव, मालपोत कार्यालय चावहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यसैगरी, झापाको कमल गाउँपालिका– २ का योगेन्द्र आचार्य, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ का सिताराम अधिकारी र काठमाडौं महानगरपालिका–९ का नविन दाहालविरुद्ध पनि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत पाण्डेय र सर्भेक्षक यादवले मूलपानी १ (ख) कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजको रुपमा चिनिने नक्सामा अनाधिकृत रुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप छ ।
सो कार्यमा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत काफ्ले र नायव सुब्बा कुँवर तथा झापाको कमल गाउँपालिका–२ का आचार्य, काठमाडौं कागेश्वरी मनोहरा–९ का अधिकारी र काठमाडौं महानगरपालिका–९ का दाहालको पनि संलग्नता देखिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।