ओडिआईमा नेपालको कीर्तिमानी स्कोर, ओमानलाई ३११ रनको विशाल लक्ष्य
अखबार टुडे
प्रकाशित:
२०८०, ८ बैशाख

काठमाडौं, ८ वैशाख । नेपालले ओडिआई खेलमा कीर्तिमानी स्कोर बनाएको छ । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपालले पहिलो पटक ३०० रनको स्कोर कटाएको हो । हालसम्म नेपालले कुनै पनि आडिआई खेलमा तीन सय रन बनाउन सकेको थिएन ।

बायाँ हाते युवा अलराउण्डर कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो । नेपालका लागि मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मदद्तमा १०८ रन बनाए । कुशल नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए ।

यसतै, सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन् । ओडिआईमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा सोमपालले अविजित ६३ रन बनाए । उनले ४८ बलमा ९ चौका हानेका थिए । नेपालका अन्य ब्याटर भीम सार्कीले ३३, आरिफ शेखले २९, कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे ।

करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए । दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट हुँदा नेपालले रन जोडेकै थिएन ।

ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

प्रतिक्रिया