ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरिदिन निगमको अनुरोध
अखबार टुडे
प्रकाशित:
२०८०, ७ बैशाख

काठमाडौं, ७ वैशाख । नेपाल वायु सेवा निगमले ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।

निगमले विश्वव्यापी कोरोना भाइरसको कारण व्यापारमा प्रतिकुल असर परेकाले सो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन आग्रह गरेको हो ।

साथै किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमका प्रवक्ता रमेश पौडेलले आज (बिहीबार) जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता पौडेलका अनुसार वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएको जिकिर गरेका छन् ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज ऋण लिएर खरिद गरेको जानकारी दिनुहुँदै ऋणको किस्ता बाफत गत वर्षको चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा यसअघि असार महिनामा एक अर्ब ३५ करोड रुपियाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ, पुसमा ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ, चैतमा ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ गरी जम्मा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपियाँ भुक्तानी गरिसकेको उल्लेख छ ।

प्रतिक्रिया