चीनलाई उछिन्दै भारत बन्यो विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश
अखबार टुडे
प्रकाशित:
२०८०, ६ बैशाख

काठमाडौं, ६ बैशाख (एजेन्सी) । भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) को तथ्याङ्कअनुसार भारत सबैभन्दा बढी जनसंख्या भएको देश बनेको हो ।

यूएनएफपीएको पछिल्लो विवरण अनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको छ । यूएनएफपीएको द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख र चीनको जनसंख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख छ ।

सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गएको वर्ष चीनको जनसंख्या घट्न थाल्यो भने भारतको जनसंख्या बढेको छ ।

प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ । चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष रहेको छ ।

विज्ञहरूका अनुसार भारतलाई अहिले जनसाङ्ख्यिक लाभ भएको छ । उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवा जनसङ्ख्याको अधिकताले देशको विकासलाई अघि बढाउन मद्दत गर्नेछ भने देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर प्रदान गर्नेछ ।

देशलाई आन्तरिक खपतका निम्ति श्रमिक आपूर्तिमा समस्या नहुने हुनाले बाह्य समस्याबाट पनि भारतलाई जोगिन सहज हुनेछ । कोभिड–१९ को महामारीका बेला यो वास्तविकता उजागर भइसकेको छ ।

प्रतिक्रिया