थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो
अखबार टुडे
प्रकाशित:
२०८०, ६ बैशाख

काठमाडौं, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । बुधबार बिहान श्री एयरलाइन्सको विमानमार्फत राष्ट्रपति पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको हो ।

राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार हुने उनका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए । स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका थिए । चिकित्सकको सल्लाहमा राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिएको डा. बमले बताए ।

यसअघि राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपका लागि शिक्षण अस्पताल पुगेका थिए । चिकित्सकले पेटको तल्लो भागमा जमेको पानी परीक्षणका लागि निकालेका थिए । अस्पताल भर्ना भएपछि मंगलबार छातीको एमआरआई र सीटी स्क्यान पनि गरिएको थियो । ती सबैमा संक्रमणबाहेक थप समस्या भने नदेखिएको राष्ट्रपति पौडेलका निजी चिकित्सक डा. बमले बताए ।

यसअघि राष्ट्रपति पौडेलको ग्यास्ट्रिकको समस्या बल्झिएपछि गत १८ चैत राति त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएसँगै राष्ट्रपति पौडेल चैत २१ राति अस्पतालबाट डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया