प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन प्रमुख तीन दलबीच सहमति
अखबार टुडे
प्रकाशित:
२०८०, ४ बैशाख

काठमाडौं, ४ वैशाख । प्रमुख तीन दलबीच सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

सोमबार बालकोटस्थित केपी शर्मा ओलीको निवासमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि सर्वोच्च अदालत कामुका भरमा चलेको भन्दै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाएको लेखकले बताए ।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा अघि बढाउने विषयमा पनि छलफल भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूले एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रतिक्रिया