भारतीय लगानीका अलपत्र ठेक्का तोड्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०८०, ४ बैशाख

काठमाडौं, ४ वैशाख । भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ । समस्याग्रस्त ६–७ ठेक्का तोड्ने विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो ।

भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ठेक्काका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको छ ।

उनीहरूबीच लामो समयदेखि अलपत्र योजना तोड्ने विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए । सचिव शर्माका अनुसार बथनाहा–विराटनगर रेल सञ्चालन र रक्सौल–काठमाडौं रेलमार्ग निर्माण विषयमा पनि कुराकानी भएको थियो ।

भारतीय एक्जिम बैंकको लगानीमा विभिन्न योजना निर्माणाधीन छन् । ती योजना भारतीय निर्माण कम्पनीले लामो समयदेखि निर्माण सम्पन्न गरेका छैनन् । दाङको लमही–घोराही सडकखण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो । सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका छन् ।

मन्त्री ज्वाला र राजदूत श्रीवास्तवबीच रक्सौल–काठमाडौं रेल सेवा निर्माणका विषयमा पनि कुराकानी भएको छ । सो रेलमार्गलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । भेटमा नेपाल–भारत सीमामा रहेका रेलमार्गका विषयमा पनि काराकानी भएको छ ।

बथनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका विषयमा कुराकानी भएको सचिव शर्माले जानकारी दिए ।

प्रतिक्रिया