बाक्लो तुवाँलोका कारण हवाई उडान प्रभावित
अखबार टुडे
प्रकाशित:
२०८०, ३ बैशाख

काठमाडौं, ३ वैशाख । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ । सिमराको उडान भर्खरै खुलेको छ । पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन। तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरू भएको हो ।

विमानस्थलका अनुसार आज आन्तरिकतर्फ एक सय १५ उडान तालिका छन् । तीन दिनदेखि राजधानीसँगै देशका अन्य क्षेत्रमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो । गत शुक्रबार र शनिबार पनि पोखराको उडान प्रभावित भएको थियो ।

अन्तर्राष्ट्रियतर्फ बिहान केही समय उडान सामान्य प्रभावित भए पनि अहिले नियमित उडान भइरहेको प्रवक्ता सिटौलाले उल्लेख गरे । कतार एयरवेजको जहाजले विमानस्थलमा गलत दिशा ‘मिस एप्रोच’ लिएकाले करिब दुई घण्टा ‘होल्ड’ (आकासमा फन्को लगाउने) भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । राजधानी काठमाडौं उपत्यकाको आकाशमा गत शुक्रबारदेखि बाक्लो तुवाँलो लागिरहेको छ ।

प्रतिक्रिया