रास्वपाले ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीमाथि संसद सचिवालयले अध्ययन गर्ने
अखबार टुडे
प्रकाशित:
२०८०, ३ बैशाख

काठमाडौं, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे संघीय संसद सचिवालयले अध्ययन गर्ने भएको छ ।

रास्वपाले समानुपातिक सांसद श्रेष्ठलाई गत चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार संघीय सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको हो ।

सचिवालयले आइतबारदेखि अध्ययन गरेर सोबारेको यथार्थ सभामुखलाई जानकारी गराउने संघीय संसदका प्रवक्ता एकराम गिरीले बताए । उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐनले जे जे व्यवस्था गरेको छ, साधारण सदस्यबाट निष्कासन गर्न जुन विधि प्रक्रिया अपनाउनुपर्छ भनेको छ, सो सम्बन्धी प्रक्रिया पूरा गरेको छ कि छैन भनेर अध्ययन गरिनेछ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसदमा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधि सभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था छ । संसद नचलेको बेला छ सभामुखले सूचना पार्टीमा सूचना टाँस गरेर जानकारी गराउनुपर्ने छ ।

गत चैत ३० गते ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको पत्र रास्वपाले आयोगमा पठाएको थियो। आगामी वैशाख १४ गतेभित्र उनीमाथि गरिएको कारबाही प्रक्रियागत रूपमा ठिक भए सभामुखले स्थान रिक्तताको जानकारी गराउने संघीय सचिवालयले जनाएको छ ।

सभामुखले सदनमा स्थान रिक्तताको जानकारी गराएपछि निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका कुनै एक उम्मेदवारलाई प्राथमिकता क्रमअनुसार छनौट भएका व्यक्तिलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने बताइएको छ ।

रास्वपाले भने समानुपातिक सूचीमा रहेका विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया