छोराको इन्काउन्टरपछि पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानी हत्या
अखबार टुडे
प्रकाशित:
२०८०, ३ बैशाख

काठमाडौं, ३ वैशाख (एजेन्सी) । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानी हत्या गरिएको छ । शनिबार राति १० बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा अतिक अहमद र असरफ अहमदको प्रहरी घेरामै गोली हानी हत्या गरिएको हो ।

अतिक र उनका भाइलाई प्रहरीले परीक्षणका लागि अस्पताल लागेको थियो । अस्पताल छिर्ने क्रममा पत्रकारहरुले अतिकसँग केही दिनअघि उनका छोरा प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे प्रश्न सोधेका थिए । जवाफ दिइरहेका बेला भीडबाट उनीहरुमाथि गोली प्रहार भएको थियो । गोली हानेको दृष्य पनि क्यामेरामा समेत कैद भएको छ ।

घटनालगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लवलेश तिवारी, अरुण मौर्य र सनी कासगञ्ज रहेका छन् । उनीहरु रिपोर्टर बनेर अहमद दाजुभाईको नजिक पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उत्तर प्रदेश विधानसभामा चार पटक सांसद रहिसकेका अतिक अहमदमाथि अपहरण, हत्या, असुली, बलात्कारलगायत एक सय बढी आरोपहरु विभिन्न अदालतमा विचाराधीन छन् । अहमद दाजुभाइ उत्तर प्रदेशका विधायक राजु पाल र उमेश पालको हत्यामा अभियुक्त थिए ।

अतिक अहमदका हरेक बदमासीमा उनका भाइ असरफको साथ रहने गरेको पनि प्रहरीको भनाइ छ । बिहीबार मात्रै अतिक अहमदका छोरा असद र उनका सहयोगी गुलाम मोहम्मदलाई झाँसीमा उत्तर प्रदेश प्रहरीको विशेष कार्य बलले इन्काउन्टर गरेको थियो ।

प्रतिक्रिया