सुडानमा सेना र अर्धसैनिकबीच भीषण लडाइँ
अखबार टुडे
प्रकाशित:
२०८०, २ बैशाख

काठमाडौं, २, बैशाख । सुडानमा सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ भइरहेको छ । हालसम्म कम्तीमा तीन जनाको ज्यान गइसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

बीबीसीले उल्लेख गरेअनुसार भिडन्तबाट बच्न सर्वसाधारणले सुरक्षित स्थलहरू खोजेर आश्रय लिइरहेका छन् । सार्वजनिक भिडियोहरूमा खार्तुम विमानस्थलमा एउटा गैरसैनिक विमानमा आगो लागेको देखाइएको छ । साउदी एयरलाइन्स साउदीआले आफ्नो एयरबस विमान ‘दुर्घटना’मा परेको बताएको छ ।

अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)ले विमानस्थल र अन्य प्रमुख केन्द्रहरू नियन्त्रण गरेको बताएको छ । तर, सेनाले त्यसलाई अस्वीकार गर्दै सैन्य जेटहरूले आरएसएफको आधार क्षेत्रमा प्रहार गरिरहेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

‘यहाँ अझै गोली चलिहरेको छ र मानिसहरू घरभित्रै बसिरहेका छन् । यहाँ आतंक र डरको स्थिति छ’ अजोक मोनीबायोकले केन्यामा रहेकी उनकी दिदीमार्फत उदृत गर्दै बीबीसीलाई बताएका छन् ।

रोयटर्स समाचार संस्थाले सहरको मध्य भागमा रहेको सेनाको मुख्यालय नजिकै गोली चलेको आवाज सुनिएको जनाएको छ ।
सुडानको सेनाले आरएसएफ लडाकुहरूले सैन्य मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ । त्यहाँ नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद जारी छ ।

प्रतिक्रिया