जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि आक्रणमको प्रयास
अखबार टुडे
प्रकाशित:
२०८०, २ बैशाख

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणमको प्रयास भएको छ । वाकायामा शनिबार आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य दिन लाग्दै गर्दा उनीमाथि ‘स्मोक बम’ प्रहार भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

जापानको सरकारी समाचार संस्था क्योदो तथा प्रसारण संस्था एनएचकेले प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनलाई सुरक्षितरूपमा कार्यक्रमस्थलबाट निकालिएको उल्लेख गरेका छन् ।

समाचार अनुसार प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो । आक्रमणको आशंकामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि, प्रहरीले यसलाई पुष्टि गरेपनि थप जानकारी दिएको छैन ।

एकजना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्षित गर्दै केही फ्याकेको देखेको तथा केही क्षणमै धुँवाको मुस्लो र ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको थियो । बम विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेको प्रसारणमा देखिन्छ ।

प्रधानमन्त्री किशिदाको लिबरल डेमोक्र्याटिक पार्टीका सदस्य हिरोशी मोरियामाले लोकतन्त्रको आधारस्तम्भ सुदृढ बनाउने चुनावी अभियानमा यस्ता घटना हुनु खेदजनक भएको बताउँदै त्यसलाई उनले अक्षम्य अपराध भनेका छन् ।

जापानमा हिंसात्मक घटना विरलै हुने गरेका छन् । तर, गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट हत्या भएपछि राजनीतिक दलका नेतामा सुरक्षा चिन्ता बढेको छ ।

प्रतिक्रिया