काठमाडौं, १ वैशाख । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवत जावत हुने भएको छ । यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवत जावत गर्नेगरी सञ्चालनमा आएको हो ।
रेल्वेका महाप्रवन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ ।
यो सेवा बिस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ । यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावयश्क भीडभाड हुने गरेको थियो ।
साथै महाप्रवन्धक झाले बिजलपुरासम्म रेल सेवा बिस्तारका लागि दुई चरणको अनुगमनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरु छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताए ।
उनले चाँडै नै बिजलपुरासम्म रेल सेवाको बिस्तारको लागि प्रयासरत रहेको बताए। उनले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको बताए । उनले अब सहज र सुलभ रेलसेवा उपब्ध हुने बताए ।
यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतिी बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थिया । महाप्रवन्धक झासहित भारतीय प्राविधिकहरुको टोली समेत मिलेर रेल अगाडिको लिकमा नारिवल फोड्दै सेवा बिस्तारको शुभारम्भ गरिएको छ ।