आन्दोलनबाट प्राप्त भएका उपलब्धि उल्टिने खतरा, स्थिति सहज छैन : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, १ बैशाख

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताएका हुन् ।

उनले भने, ‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ ? भन्ने कसरत ठूलै छ ।’

उनले वर्तमान समयमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्र सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको जिकिर गरे । जिम्मेवारीबोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेकपा माओवादी केन्द्रले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए । उनले नेतृत्वलाई दबाव दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया