१० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब
अखबार टुडे
प्रकाशित:
२०७९, ३० चैत्र

काठमाडौं, ३० चैत । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिइएको हो ।

प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया १० दिनभित्र सुरु नभए नेपाल बार आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निष्कर्षम पुग्ने प्रतिबद्धता जनाएको उनले बताए । उनले प्रधानमन्त्रीसँगको भेटमा अदालतको पेसी व्यवस्थापन अटोमेसनको माध्यमबाट हुनुपर्ने र त्यसका लागि बजेट व्यवस्थापनको माग गरेको पनि बताए ।

प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महसुस भएको र १४ महिना कायममुकायम प्रधानन्यायाधीशबाट नै सर्वोच्च अदालत सञ्चलन गर्दा न्याय सम्पादनमा कठिनाइ भइरहेको बताए ।

प्रतिक्रिया