म्यान्मारमा सैन्य शासन झनै कठोर बन्दै, जेटबाट बम खसाल्दा एकसय बढी सर्वसाधारणको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र

काठमाडौं, २९ चैत (एजेन्सी) । म्यान्मारमा सैन्य शासन झनै कठोर बन्दै गइरहेको छ । मंगलबार म्यान्मारमा सेनाले मानिसहरुको भिडमा बम खसाल्दा एक सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको हो ।

राजधानी नेपिडादेखि २६० किलोमिटर टाढा पाजीगीको सागेङ प्रान्तमा सेनाले जेटबाट बम खसालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीयवासीका अनुसार २० मिनेट बमबारी हुँदा त्यो ठाउँमा ३०० भन्दा बढी मानिस उपस्थित थिए ।

पाजीगी सहरमा पिपुल्स डिफेन्स फोर्सेस (पीडीएफ)ले आफ्नो कार्यालय स्थापना गरिरहेको थियो। पीडीएफले सैनिक शासकविरूद्ध देशभित्र अभियान चलाइरहेका छन् ।

संयुक्त राष्ट्र संघले सेनाको कारबाहीको निन्दा गरेको छ । संघको मानवअधिकार समितिका उच्च पदाधिकारी वोल्कर तुर्कले भनेका छन्, ‘हवाई हमलाको रिपोर्टले हैरान बनाएको छ । जतिबेला हेलिकोप्टरबाट बम फ्याँकियो, त्यतिबेला स्कुले छात्रछात्राहरू डान्स गरिरहेका थिए।’

म्यान्मारमा दुई वर्षअघि सेनाले शासन व्यवस्था आफ्नो हातमा लिएको थियो। त्यसयता सेनाको यो सबैभन्दा ठूलो कारबाही भएको बताइएको छ । स्थानीय केहीले घटनाको भिडियो सोसल मिडियामा सेयर गरेका छन्। जसमा चारैतर्फ नागरिकको लास देखिएको छ ।

इङ्लिस पत्रिका ‘द गार्जियन’ का अनुसार म्यान्मारमा हवाई हमला यतिबेला दैनिक भइरहेको छ । सेनाले आफ्नो विरोधीलाई हमला गर्न कुनै कसर बाँकी राखेको छैन । मानिसहरूलाई निशाना बनाइएको छ ।

म्यान्मार विटनेसको रिपोर्ट अनुसार ६ महिनायता यहाँ यस्तो घटना १३५ पल्ट दोहरिसकेको छ । १ फेब्रुअरीमा म्यान्मारमा सैन्य ‘कू’ भएको दुई वर्ष पुरा भएको थियो । सन् २०२१ मा सेनाले आङ सान सु किको सरकार अपदस्त गरेको थियो। सु कि हाल सैन्य हिरासतमा छिन् । म्यान्मारको न्यूज वेभसाइट इर्रावाडीका अनुसार विगत २ वर्षमा यहाँ ३१ हजार २२ जनाको हत्या भएको छ ।

प्रतिक्रिया