वास्तविक मिटरब्याजी सरकार आफैँ हो : ज्ञानेन्द्र शाही
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र

काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार आफैँ भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले आज वास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका हुन् ।

उनले भने, ‘आज वास्तविक मिटरब्याजी यो सरकार भएको छ । भएभरको पैसा बैंकमा राख्ने, बैंकमा ब्याज खाने, अनि मिटरब्याजी अरुलाई भन्ने ? वास्तविक मिटरब्याजी कोही छ भने सरकार छ ।’

उनले मिटरब्याजमा सरकारी पैसा ढुकुटीमा राखेर विकास निर्माणको काम ठप्प परेको आरोप लगाए । उनले भने, शाहीले भने, ‘नेपाल सरकारले २ खर्ब ११ अर्ब मात्रै फिक्स डिपोजिट गरेको छ । निर्माण व्यवासी र अन्यलाई रकम नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेर ८.५ प्रतिशत ब्याज खाइरहेको छ । यसरी मिटरब्याजमा सरकारी पैसा ढुकुटीमा राखेर विकास निर्माणको काम ठप्प परेका छन् । कर्मचारीले तलब खान पाएका छैनन् । निर्माण व्यवसायीको हालत विजोग छ । बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था छ ।’

सो बजेट रोक्का गर्नुको कारणबारे एक हप्ता भित्र संसदमा जवाफ दिन सरकारसँग माग गर्दै जवाफ नआए आफ्नो पार्टीले सदन नै अवरुद्ध पार्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया