नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने एमाले नेता सन्देश शर्मा पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र

काठमाडौं, २९ चैत । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका मुख्य योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घर भएका सन्देश शर्मा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए ।

सोही प्रकरणमा यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो । पक्राउ परेका राई मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्षसमेत हुन् । चार जनालाई पक्राउ गरिए पनि शर्मा भने फरार थिए ।

शर्मा एमाले निकट विद्यार्थी नेतासमेत हुन् । शर्माकै योजनामा दाङका मात्रै ८१ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन लागेको खुलेको छ। उजुरी दिएकामध्ये ८१ जना दाङका रहेको पाइएको छ । अहिले पक्राउ परेका शर्माले रकम उठाउने र शक्तिकेन्द्रसम्म पु¥याउने गरेको खुलेको छ ।

यो गिरोहबाट पीडित भएको भन्दै उजुरी दिनेको संख्या अहिले १४५ पुगिसेको छ । उनीहरूबाट १० देखि ४० लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यसअघि पक्राउ परेकाहरूले गृहका तत्कालीन सचिवहरूदेखि मन्त्री, मन्त्रीका सचिवालयका व्यक्तिहरूकै योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काम भएको खबरहरु प्रकाशित भएका छन् ।

शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया