वैशखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने, कर्जाको के हुन्छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र

काठमाडौं, २९ चैत । नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर एकल अंक अर्थात १० प्रतिशतभन्दा तल झर्ने निर्णय गरेको छ । बुधबार विहान बसेको संघको बैठकले १ वैशखदेखि लागु हुने सबै किसिमका निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

अब १ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम हुनेछ । यस्तै साधारण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ को बिचमा रहनेछ । कल निक्षेपको ब्याजदर २.७० प्रतिशत हुनेछ ।

यसअघि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ९ प्रतिशत थियो भने निक्षेप साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिइरहेका थिए ।

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर वैशाखदेखि सामान्य घट्ने भएको छ । चैत मसान्तसम्मको आधार दरका आधारमा वैशाखदेखि कर्जाको पनि ब्याजदर घट्ने संघले जनाएको छ ।

अहिले निक्षेपमा घटेको ब्याजदरको प्रभाव भने केही महिनापछि मात्रै कर्जाको ब्याजमा पर्नेछ । नयाँ आधार दर गणनापछि बैंकहरुले कर्जाको ब्याजदर सोअनुसार सामायोजन गर्ने गर्छन् । निक्षेपको ब्याजदर घट्दा आधारदर पनि घट्न जान्छ । हाल ऋणीहरुबाट वाणिज्य बैंकहरुले १४ प्रतिशतभन्दा बढी ब्याज नलिएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया