ज्याला माग्दा ठेकेदारले मजदुरलाई पोलमा बाँधेर कुटपिटसहित मोसो दले
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र

जनकपुरधाम, २९ चैत । महोत्तरीमा एक निर्माण व्यवसायीले कालो मोसो दलेर मजदुरलाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफले काम गरेको ज्याला माग्दा निर्माण व्यवसायी कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित कालो मोसो दालेर दुर्व्यवहार गरेको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन गरिदिएका छन् । घटना यही चैत २३ गते भएको हो ।

प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए ।

मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ । रमजान मनाउन नदाफले निर्माण व्यवसायी मिश्रसँग पटक–पटक ज्याला माग्दा पनि नदिएपछि उनले काम गर्दैगर्दाको औजार लगेका थिए ।

औजार लिएर आउनू पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर मिश्रले नदाफलाई चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको परिवारका सदस्यले बताएका छन् ।

प्रतिक्रिया