युक्रेनमा बसेर पश्चिमा देशका सैन्य दस्ताले रूससँग युद्ध लडिरहेको खुलासा
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र

काठमाडौं, २९ चैत (एजेन्सी) । युक्रेनमा बसेर विभिन्न पश्चिमा देशका विशेष सैन्य दस्ताले रुससँग युद्ध लडिरहेको खुलासा भएको छ । अमेरिकी रक्षा मन्त्रालयबाट चुहावट भएको गोप्य दस्तावेजका अनुसार युक्रेनभित्र रहेर दर्जनौं देशका स्पेशल फोर्सले रुससँग युद्ध लडिरहेको खुलासा भएको हो ।

युक्रेनमा बेलायत, अमेरिका, फ्रान्स, नेदरल्याण्ड्स र लात्भियाको स्पेशल फोर्स सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दावी छ । दस्तावेजका अनुसार बेलायतले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता युक्रेन पठाएको छ । त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र नेदरल्यान्ड्सले एउटा पठाएका छन् ।

दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे भने खुलाएको छैन । लिक गरिएका फाइलहरू मध्ये केहीलाई अमेरिकामा अति संवेदनशील मानिने सरकारी वर्गीकरण अर्थात ‘क्लासीफाइड’ भनिएको छ । यि फाइलहरुका अनुसार केही समयभित्र युक्रेनले ‘स्प्रीङ अफेन्सीभ’ भन्दै रुसविरुद्ध विशेष आक्रमणको तयारी गरिरहेको छ ।

अमेरिकी सरकारले चुहावटको स्रोतको अनुसन्धान गरिरहेको जनाएको छ । बेलायतले भने स्पेशल फोर्सको परिचलान सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । उसले आफ्नो पुरानै शैलीलाई यस पटक पनि निरन्तरता दिएको छ । स्पेशल फोर्सलाई संसारमा सबै भन्दा घातक र प्रभावकारी सैन्य दस्ता मानिन्छ । रुसले यसको बारेमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन । यो दस्तावेज चुहावट हुनु अगाडि रुसलेले युक्रेनसँग मात्र नभएर पश्चिमा देश र नेटोसँग लडिरहेको बताएको थियो ।

प्रतिक्रिया