काठमाडौं, २८ चैत (एजेन्सी) । भारतीय अभिनेता सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की आएको छ । एक अज्ञात व्यक्तिले प्रहरी कन्ट्रोल रुममा फोन गरेर सलमानलाई मार्ने धम्की दिएका हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार ती अज्ञात व्यक्तिले सोमबार राति ९ बजे मुम्बई प्रहरी कन्ट्रोल रुममा फोन गरेर ३० अप्रिलमा सलमानलाई मार्ने बताएका छन् । यससँगै उक्त व्यक्तिले आफ्नो नाम रकी भाइ रहेको समेत बताएका छन् ।
उक्त धम्कीपछि सलमान खानको सुरक्षा बढाइएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको समाचारमा उल्लेख गरिएको छ । सलमानलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन ।
यसअघि विष्णोई गिरोहले सलमानलाई कहिले इमेल र कहिले पत्र लेखेर धम्की दिएको थियो । केही साताअघि जेलमा बसेका लरेन्स बिश्नोईले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा सलमानले माफी नमागेमा नराम्रो परिणाम हुने धम्की दिएका थिए ।
लगातार ज्यान मार्ने धम्की आएपछि केही दिनअघि सलमान खानले बुलेटप्रुफ कार किनेका थिए । उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन् ।