‘एके ४७’ हतियारसहित चक्रे मिलनका सहयोगी पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र

काठमडौं, २८ चैत । नेपालगञ्जमा गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटी हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार उनको साथमा रहेको घातक हतियार समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । तर त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न नमिल्ने प्रहरीले बताए ।

बोगटीमाथि कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको एसपी राठौरले बताए । बोगटीमाथि हातहतियार तथा खरखजना मुद्दामा वा अभद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको उनले बताए ।

चक्रे मिलन नेकपा एमालेमा छन् । उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको बताइएको छ । चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो गुण्डा नाइकेमध्येमा पर्छन् । २०६२/०६३ को जनआन्दोलनपछि ठमेलमा दीपक मनाङे, महाराजगञ्जमा चक्रे मिलन र चाबहिलमा राजु गोर्खालीको पकड थियो ।

प्रतिक्रिया