युगान्डाका क्रूर शासक अमिन सत्ताच्युत भएको दिन
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र

काठमाडौं, २८ चैत । सन् १९७९ मा आजकै दिन अर्थात् अप्रिल ११ मा युगान्डाका क्रूर शासक इदी अमिन सत्ताच्युत भएका थिए । तान्जानिया र युगान्डा नेसनल लिबरेसन फ्रन्टको फौज युगान्डाको राजधानी कम्पाला पुगेसँगै उनी देश छाडेर भागेका थिए ।

१९६६ मा युगान्डाको सेना तथा हवाई फौजको प्रमुख बनेका अमिनले १९७१ को जनवरी २५ मा सैनिक ‘कु’मार्फत सत्ता हातमा लिएका थिए । युगान्डामा करिब ८ वर्ष शासन गरेका अमिनले विभिन्न जातीय समूहका मानिसमाथि अत्याचार गरेका थिए । अमिनले उनको शासनकालमा कम्तीमा ३ देखि ६ लाख मानिसको हत्या गरेका बताइन्छ ।

उनलाई विश्वकै क्रूर तानाशाही शासकका रूपमा चिनिन्छ । अमिनले सुन्दर युवतीहरूलाई विवाह तथा यौन प्रस्ताव राख्ने र नमानेमा जबर्जस्ती गर्नेदेखि हत्यासम्म गर्थे । मानिसहरूलाई केही जिउँदै गाडेर वा गोहीको सिकार बनाएर हत्या गर्थे उनी । उनको फ्रिजमा मानिसका टाउकासँगै अन्य अंग पनि भेटिएकाले अमिनले मान्छेको मासु खाने गरेको समेत बताइन्छ । उनलाई ‘युगान्डाको कसाही’ भन्ने गरिन्छ ।

१९७९ मा सत्ताच्युत भएसँगै अमिन साउदी अरब गएर बसेका थिए । उनका कम्तीमा ६ श्रीमती र ४३ जना छोराछोरी रहेका अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । १९२५ मा युगान्डाको कोबोकोमा जन्मिएका अमिनको २००३ को अगस्ट १६ मा साउदी अरबको जेद्दाहमा मृत्यु भएको थियो ।

प्रतिक्रिया