सिंहदरबारको फोहोर नउठाउनेबारे मेयर बालेनको १४ बुँदे स्पष्टीकरण, गृहमन्त्री श्रेष्ठले के जवाफ दिए ?
अखबार टुडे
प्रकाशित:
२०७९, २७ चैत्र

काठमाडौं, २७ चैत । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठ्नुको कारणबारे प्रष्टीकरण दिएका छन् । गएको शनिबार मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । उनले फेसबुक पेजमा लेखेका थिए, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैर जिम्मेवारी र लापरबाहीपछि बाध्य भएर यस्तो निर्णय गरिएको मेयर शाहको भनाइ छ । संघीय सरकारका रूपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस नभएको उनले बताएका छन् । ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल भएपछि बाध्यात्मक निर्णयमा आफू पुगेको उनले बताए ।

बालेनले सरकारी निकायबाट भएका बेवास्ताका १४ उदाहरण यस्ता छन्:

१. गृह मन्त्रालय: अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

२. परराष्ट्र मन्त्रालय: विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार

३. शिक्षा मन्त्रालय: सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

४. स्वास्थ्य मन्त्रालय: सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यका भरी सेवा दिनलाई बजेट व्यवस्थापन – दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

५. पर्यटन तथा नागरिक उड्डयन: एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल – दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

६. अर्थ मन्त्रालय: ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घर बहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल

७. सहरी विकाश: खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौँमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल ।

८. भौतिक यातायात: रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन – दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

९. सूचना तथा सञ्चार: क्ष्क्ए र टेलिकमबिच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल

१०. ऊर्जा मन्त्रालय: सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल

११. खानेपानी: मेलम्चीको पानी र पाइप व्यवस्थापन, प्ग्प्ी को उचित व्यवस्थापन पहल – २ मन्त्रीसँग पटक पटक पहल

१२. भूमिसुधार मन्त्रालय: सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल

१३. सङ्घीय मामिला: तीनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक पटक पहल

१४. कृषि मन्त्रालय: मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण – मन्त्रीसँग पटक पटक पहल

सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुको कारणबारे अन्त्यमा बालेनले लेखेका छन्, ‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाव आवश्यक छ भन्नेमा सायदै दुईमत रहला ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठले के जवाफ दिए ?
गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न प्रतिवद्ध रहेको बताएका छन् । तर सरकारहरूबीच कुनै कामका लागि समन्वय हुनका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने उनले बताए ।

सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध छ । तर, तथ्यगत रुपमा औचित्य पुष्टि हुनेगरि आउनुपर्छ । त्यसका लागि संघीय सरकार सधै तयार छ ।’

साथै उनले काठमाडौं महानगरका मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर सामाजिक सञ्जालमा भन्न नमिल्ने बताए । ‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? तपाईंहरूलाई के लाग्छ?,’ उनले भने, ‘अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’

प्रतिक्रिया