राष्ट्रपति वेनको अमेरिका भ्रमणपछि ताइवानको समुद्र र आकाशमा चिनियाँ सैन्य अभ्यास जारी
अखबार टुडे
प्रकाशित:
२०७९, २७ चैत्र

काठमाडौं, २७ चैत (एजेन्सी) । चीनले ताइवानको आकाश र समुद्रमा सैन्य परेडलाई दोस्रो दिन पनि जारी राखेको छ । ताइवानका राष्ट्रपति साइ इङ वेनको १० दिने अमेरिका भ्रमणको विरोधमा रुष्ट बनेको चीनले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हालिरहेको हो ।

चीनको ७० वटा सैन्य विमानले ताइवानको टापु नजिकै घेरा हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनले जोइन्ट सोर्ड नाम गरेको सैन्य अभियान मंगलबारसम्म जारी रहने छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले अहिले चलिरहेको सैन्य अभ्यासले ताइवान टापुलाई चीनले जुनसुकै बेला कब्जा गर्न सक्ने सामथ्र्य देखाउन खोजेको बताएका छन् । चिनियाँ सेनाले ताइवान वरपर लामो दूरीका रकेट, मिसाइल, लडाकु विमान, बमवर्षक लगायतका अत्याधुनिक हतियार तैनाथ गरेको छ ।

केही समय अघि भएको चिनियाँ जनकंग्रेसको बैठकमा राष्ट्रपति सि जिनपिङले ताइवानलाई चीनकै प्रान्तको रुपमा राख्न जुनसुकै बेला बल प्रयोग गर्न सक्ने बताएका थिए ।

यसअघि ताइवानको रक्षा मन्त्रालयले ४२ वटा चिनियाँ सैन्य विमान र आठ वटा युद्धपोतले चीन र ताइवान छुट्याउने काल्पनिक मध्यरेखा पार गरेको जनाएको छ । चीनले ताइवानलाई आफ्नै क्षेत्र मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश दाबी गर्दै आएको छ ।

यसैबीच, अमेरिकाले चीनलाई संयमता अपनाउन अपिल गरेको छ । चीनले भने ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया