विदेशमा मृत्यु भएका नेपालीको बीमामा ठगी गर्ने रोजगार बोर्डका नासु र बीमा कम्पनीका अधिकृत पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २६ चैत्र

काठमाडौं, २६ चैत । रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका नेपालीहरूका परिवारले पाउने बीमा रकम ठगी गर्ने गिरोहमा संलग्न थप दुई दुइजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा (कम्प्युटर अपरेटर) ३६ वर्षीय पशुपति अधिकारी तथा सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन् ।

यसअघि प्रहरीले यसै गिरोहका ६ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो । बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं गोङ्गबु स्थितबाट राम बहादुर तामाङ समेत ६ जनालाई चैत २३ गते पक्राउ गरेको थियो ।

उनीहरूबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू सहित फेला पारी निजहरूलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको थियो ।

प्रतिक्रिया